नेपालमा मनसुन ढिलो भित्रिने, तर हुनेछ औसत वर्षा

१४ जेठ, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ ।

सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले गरेका छन् ।

दक्षिण भारतको केरला हु“दै मनसुन नेपालसम्म आउ“छ । केरलामा मनसुन भित्रिने सामान्य मिति १ जुन हो । तर यस वर्ष केरलामै ५ जुनभन्दा अगाडि मनसुन नभित्रिने भनेर भारतीय मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसैले नेपालमा पनि जुन १५ अगाडि मनसुन आउने संकेत नदेखिएको मौसमविद् मणिरत्न शाक्य बताउ“छन् । गत वर्ष पनि नेपालमा १० दिन ढिलो अर्थात् ५ असार (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।

मनसुन ढिलाइको सम्भावित कारण

यस वर्ष मनसुन नेपालमा ढिलो भित्रिने प्रमाणित तथ्य त छैन । तर मौसमविदहरूले हालै बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनलाई यसको कारण मानेका छन् ।

मौसमविद शाक्य भन्छन्, ‘अम्फान (अम्पुन) साइक्लोनका कारण नेपालमा करिब एक हप्ता ढिलो मनसुन भित्रिने देखिन्छ । किनभने कुनै एउटा सिस्टम आयो भने अर्को सिस्टम आउन केही समय लाग्छ ।’

यस्तै, अनुमान छ जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेलको पनि । तर उनी अम्पुनकै कारण नेपालमा मनसुन ढिला हुने तर्कसँग भने सहमत नरहेको बताउँछिन् । भन्छिन्, ‘नेपालमा यस वर्ष मनसुन ढिला हुने त देखिएको छ, तर अम्पुनकै कारण ढिलो हुन्छ भन्ने प्रमाणित तथ्यचाहिँ छैन ।’

मनसुन ढिला भित्रिए पनि नेपालमा सरदर वर्षा हुने उनले बताइन् । ‘यस वर्ष नेपाली किसानहरूलाई मनसुनले निराश बनाउँदैन । वर्षा औसत हुने हुने अनुमान छ,’ मौसमविद् पोखरेलले भनिन् ।

अहिले प्रिमनसुन सिजन चलिरहेको छ । प्रिमनसुनमा पनि पटक पटक पानी पर्दै आएको छ । यसले पनि कतिपय जिल्लाका किसानलाई राहत मिलेको छ । अब मनसुनले पनि नेपाली किसानलाई निराश नबनाउने मौसमविद् पोखरेलको अनुमान छ ।

कुन प्रदेशमा कति वर्षा ?

जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई दक्षिण एसियाली देशहरूको मनसुनी अवधि मानिन्छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) को विश्लेषणका आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन अवधिमा औसत वर्षा सरदर ९६ प्रतिशत हुने अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा यस वर्ष प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको उत्तर भागमा सरदर वर्षा हुने सम्भावना ५० प्र्रतिशतभन्दा बढी छ । अन्य भागहरूमा भने सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा कम रहेको विभागले जनाएको छ ।

यो आँकलन जल तथा मौसम विज्ञान विभागको मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले सार्वजनिक गरेको दक्षिण एसियाको आगामी मनसुनी वर्षाको आकलनको आधारमा गरिएको हो ।

यस वर्ष दक्षिण एसियाली जलवायु दृष्टिकोणसम्बन्धी साझा मञ्चको १६ औं बैठक बंगलादेशको राजधानी ढाकामा यही वैशाख ८ गतेदेखि १० गतेसम्म हुने तय भएको थियो । तर विश्वव्यापी कोरोना महामारीको कारण भिडियो कन्फ्रेन्समार्फत् बैठक बसेको थियो । सो कन्फ्रेन्समा नेपाल, भारत, म्यानमारलगायत दक्षिण एसियाली ९ देशका सरकारी सेवाका मौसम विज्ञानका विज्ञहरू र विश्व मौसम संगठन, विश्व मौसम संगठनको क्षेत्रीय जलवायु केन्द्र, भारत, यूके मेट अफिस, थाइल्याण्ड, अमेरिका, जापानलगायतका अन्य क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता थियो ।

मञ्चले नेपाल, भारतलगायत धेरैजसो देशमा सरदर वर्षा हुने र दक्षिण तथा मध्य पाकिस्तानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना औंल्याएको छ । यो प्रक्षेपण दक्षिण एसियाको हावापानीलाई मुख्य प्रभाव पार्ने विद्यमान जलवायुको अवस्था र विश्वव्यापी जलवायु प्रारूपको ऋतुगत पूर्वानुमानहरूको प्राविधिक विश्लेषणका आधारमा गरिएको हो ।

सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

प्रकाशित मिति : - १४ जेठ २०७७, बुधबार
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *