भैरहवामा कोरोना परीक्षण प्रयोगशालामा परीक्षण शुरु

चैत्र २३ः विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा सेवा शुरु भएको छ ।

सरकारले प्रदेश ५ को भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको खाली भवनलाई मर्मत गरेर प्रदेशस्तरिय प्रयोगशाला स्थापना गरेको हो ।

कोरोना प्रयोगशालाको सेवा शुरुमा तीन दिनभित्र सञ्चालनमा आउने बताइए पनि भवनको मर्मत र कोरोना परीक्षणका लागि पिसिआर मेशिन मात्रै नराखी सँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापनाको तयारीका कारण केही ढिलाइ भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताउनुभयो ।

अब यो वायो सेफ्टी लेभलको प्रयोगशालामा कोरोना भाइरस मात्रै नभएर अन्य खालका इन्फ्लुएञ्जा पनि परीक्षण गर्न सकिने सुविधासम्पन्न प्रयोगशालाको पूर्वाधार तयार भएको डा गिरी बताउनुहुन्छ ।

प्रयोगशालाको सञ्चालनका लागि भवनको मर्मत सम्पन्न भएर मेशिन जडान र मेशिनको गुणस्तर परीक्षणको काम सकिएपछि प्रयोगशालाको काम आज बेलुकासम्म केही नमूना परीक्षण रिपोर्ट निकाल्ने तयारीका साथ काम भइरहेको डा गिरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सोमबारदेखि प्रयोगशाला पूर्णरुपले सञ्चालनमा आउँछ ।’ सोमबारदेखि प्रयोगशाला पूर्णरुपमा सञ्चालनमा आयो भने एक व्यक्तिको परीक्षणको नतिजा निकाल्न कम्तीमा एक घण्टा लाग्ने भएकाले जनशक्ति थप गर्न सकिए यन्त्रलाई लगातार ७२ घण्टासम्म सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सुरुमा यो प्रयोगशाला संचालन भएपछि दाङ र नेपालगञ्जमा पनि छिटटै प्रयोगशाला स्थापना गरिने जानकारी डा गिरीले दिनुभयो । प्रदेश सरकारको निर्णयानुसार दाङको घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जमा भेरी अस्पतालमा प्रयोगशाला स्थापना गर्ने काम अघि बढेको उहाँले बताउनुभयो ।

नेपालगञ्जमा स्थापना हुने प्रयोगशाला बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीको परीक्षण हुने छ । भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेशिन जडान गर्ने प्रक्रिया अघि बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाप्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : Wednesday, April 08, 2020
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts