भारतको महाराष्ट्रमा बढ्दै ‘कोभिड १९’ का सङ्क्रमित

 चैत्र २६ः महाराष्ट्रमा ‘कोभिड १९’ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।

सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार ७८ जना पुगेको बताइएको छ । आजमात्र महाराष्ट्रमा कोभिड-१९ का ६० जना संक्रमित भेटिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका संक्रमितहरुको संख्या एक हजार नाघेको बताइएको छ ।

यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । आज भेटिएका ती ६० जनामा ४४ जना स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका ४४ जना ‘बृहनमुम्बई म्युनिसिपल कर्पाेरेसन’ क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।

भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ७७३ जना सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिनमा यतिधेरै विरामी भेटिएको यो नै पहिलो घटना भएको अधिकारीहरुको भनाई छ ।

भारतमा बुधबारसम्म ५ हजार १९४ जना सङ्क्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो । यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ ।

यसरी हेर्दा अहिले पनि भारतमा ४ हजार ६४३ जना विरामी अस्पतालमा उपचाररत छन् । मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १० रहेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ जना पुगेको बताइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या ६९० रहेको छ । त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ५७६ रहेको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७६, २६ चैत्र बुधबार 

Nawayuga.com, Arunkhola. 
By nawayuga

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts