Wednesday, January 22

छोरी हाम्रा गर्व

दुई मात्र बच्चा जन्माउने चलन भएको अहिलेको समाजमा सबै बाबुआमाले सायद आफ्ना सन्तान एउटा छोरा र एउटी छोरी नै होऊन् भनी चाहन्छन् । हामीले पनि त्यस्तै रहर गरेका थियौं ।

पहिलो सन्तान छोरी भए पनि कुनै चिन्ता थिएन । अर्को सन्तान छोरा हुन्छ भन्ने आशा थियो । तर जब अर्को सन्तानको समय आयो, हामीलाई छोराका लागि दबाब बढ्यो । फेरि छोरी भयो भने के गर्ने भन्ने चिन्ता र अलि डर पनि थियो ।

मेरो तीन महिनाको गर्भ हुँदा हामी काठमाडौंको नाम चलेको अस्पतालमा परीक्षणका लागि गयौं । त्यसअघि छिमेकी दिदीले मलाई भन्नुभएको थियो, ‘त्यो अस्पतालका (फलानो) डाक्टरले हेरेर छोरा वा छोरी भनेको फरकै पर्दैन ।’ हामीलाई आफ्नो उत्सुकता मेट्नुपरेकाले तिनै डाक्टरलाई जँचायौं । अल्ट्रासाउन्ड गरिसकेपछि उनी कुर्सीमा बसेर केके लेख्दै थिए, मैले डराई–डराई सोधें, ‘छोरा छ कि छोरी, डाक्टर सा’ब ?’

उनले टाउको उठाएर मलाई पुलुक्क हेर्दै ठट्यौलो पारामा भने, ‘भन्न मिल्दैन । तपाईंहरू सुराकी पो हो कि ? साँझ प्रहरी आएर मलाई लैजाने पो हो कि ?’

उनी फेरि पर्चामा केके लेख्न थाले । हामीले पनि कानुनविपरीत कुरा किन सोध्नु भनेर फेरि आँट गरेनौं । त्यसैबीच उनले सोधे, ‘यो पहिलो बच्चा हो कि दोस्रो ?’

मैले भनें, ‘दोस्रो ।’

‘पहिलो छोरा छ कि छोरी ?’ उनले फेरि सोधे ।

‘छोरी ।’

उनी हाँस्दै बोले, ‘ए, उसो भए त झन् भन्नै मिलेन !’

यद्यपि उनको उत्तरको आशय प्रस्ट थियो, तथापि हामी पनि उनीसँगै हाँस्यौं । उनको जवाफले मेरो मन अलि खिस्रिक्क चाहिँ पारिसकेको थियो ।

पेटमा छोरा वा छोरी जे भए पनि हामीले ‘पाप नगर्ने’ दृढसंकल्प गरिसकेका थियौं । त्यसैले अर्को बच्चाको आगमन पर्खिबस्यौं । कसैकसैले हामीलाई ‘डाक्टरले भनेको पनि कहिलेकाहीँ ठीक हुँदैन’ भनेर अलिअलि हौसला बढाउने गर्थे । त्यसैले बच्चा जन्मिने त्यो दिन अपरेसन कोठामा लग्दा ममा अझै पनि छोरो होला कि भन्ने अलिकति आशा थियो ।

अपरेसन गर्दा डाक्टरले मेरो आधा जीउलाई मात्र अचेत बनाइदिएका थिए । जब डाक्टरले पेट चिरेर निकालेको बच्चालाई मेरो गालामा जोडिदिए, मैले झिनो आशा राख्दै सानो स्वरले अन्तिम पटक फेरि सोधेँं, ‘छोरा हो कि छोरी ?’

‘छोरी !’

म फेरि खिस्रिक्क भएँ ।

दोस्रो सन्तान पनि छोरी भएपछि हामीले छोराका लागि तेस्रो बच्चा जमाउने इच्छा नगरेका होइनौं । तर, विविध कारणले गर्दा त्यो सम्भव थिएन । पहिलो त, दुवै छोरी अपरेसनबाट जन्माइएका थिए । यस्तोमा तेस्रो सन्तान जन्माउँदा आमाको ज्यान जोखिममा पर्छ भन्ने हामीले सुनेका थियौं । दोस्रो, हाम्रो आर्थिक अवस्था तीनतीन सन्तानलाई भनेको हिसाबले पालनपोषण गर्न र शिक्षादीक्षा दिन पुग्ने खालको थिएन । तर, यीभन्दा ठूलो तेस्रो डर थियो— छोराको आशमा तीनतीन सन्तान जन्माउँदा समाजले हामीलाई के भन्ला ? समाजले एकातिर छोरै पाए पनि ‘अहिलेको जमानामा आफूलाई पढेलेखेका भन्नेहरूले पनि छोरा र छोरीमा विभेद देखे’ भन्ने थियो, अर्कातिर छोरी नै जन्मिई भने ‘खुब छोरो पाउँछौं भनेर लाग्या थिए, फेरि छोरी पाए, खुच्चिङ पर्‍यो, अझ जुम्ल्याहा छोरी पाएका भए झन् राम्रो हुन्थ्यो’ भन्दै कुरा काट्ने थियो ।हामीले समाजलाई बोल्ने बाटो नदिने निश्चय गर्‍यौं ।

समयसँगै हाम्रा छोरीहरू हुर्किंदै छन् । परिवारमा दिन–प्रतिदिन खुसी थपिंँदै छ । अहिले दुवै छोरी हाम्रा आँखाका नानी भएका छन्, राजकुमारी भएर बसेका छन् । छोरा नभएकामा थोरै पनि पीर छैन । यद्यपि अहिले नेपाली समाज धेरै आधुनिक भैसकेको छ, बाउआमालाई दागबत्ती कसले देला र किरिया कसले गरिदेला भन्ने जस्तो अन्धविश्वासबाट माथि उठिसकेको छ, तैपनि नारीप्रति यो पूरै उदार भैसकेको छैन । आफूले जति नै सकारात्मक सोचिरहे पनि समाजमा व्याप्त रीतिरिवाज र कुसंस्कृतिले बेलाबेला असर गर्ने नै रहेछ । छोरीहरूले पनि हरेक महिनावारीमा अपमानित हुनुपर्ने, छोरी भएकैमा पाइलापाइलामा झन्झट बेहोर्नुपर्ने, विवाहपछि अर्काको घर जानुपर्ने, आफूले नौ महिना पेटमा राखेको बच्चालाईआफ्नो थर दिन नपाउने, समाजमादोस्रो दर्जाको भएर बाँच्नुपर्ने यथार्थ सम्झिँदा बेलाबेला मलाई छोरा नभएकामा कताकता खल्लो पनि लाग्ने गर्छ । छोरी भएकै हुनाले उनीहरूलाई बेला–कुबेला एक्लै घरबाहिर पठाउन मन मान्दैन । छोरो भएको भए सायद यस्तो चिन्ता पनि हुने थिएन नै ।

यस्तो सुर्तालाई एकातिर पन्छाएर सोच्दा लाग्छ— भगवानले दुइटी छोरी दिएर हाम्रो कल्याण नै गरेका रहेछन् । हामी अरूहरूको परिवार हेर्छौं, उनीहरूसँग आफ्नो परिवारको तुलना गर्छौं, अनि आफ्नो भविष्य उनीहरूको भन्दा उज्ज्वल देख्छौं । हाम्रो जस्तो सामाजिक–आर्थिक स्तर भएका अधिकांश परिवारमा छोराहरू श्रीमती टिपेर बाहिर बसेका छन् । उनीहरूले बाबुआमालाई भेट्ने भनेको वर्षमा एक पटक हो । बरु छोरीहरूले बाबुआमालाई धेरै माया गर्ने गरेको देखिन्छ । घरमै आमाबाबुसँग बसेका धेरैजसो छोराहरूले बाबुआमालाई बोझका रूपमा लिएका हुन्छन् ।

छोराहरू अलि युवावस्थामा पुगेपछि बाबुआमाबाट टाढिन थाल्छन् र बिहेपछि त झन् अपरिचित जस्तै हुन्छन् । तर यो कुरा छोरीहरूमा लागू हुँदैन । छोरीहरू जति ठूला भए पनि बाबुआमाबाट कहिल्यै टाढिँदैनन्, बाबुआमालाई माया गर्न छोड्दैनन् । यो कुरो हामी पनि बिस्तारै अनुभव गर्दै छौँ ।

यो सब देख्दा हामी छोरीहरू छोराभन्दा उत्तम हुने रहेछन् भन्नेमा ढुक्क भएका छौं । दुवै सन्तान छोरी भएकामा अहिले हामीले गर्व गर्न थालेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *